परराष्ट्रमन्त्रीद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता

काठमाडाैं | असोज ९, २०८१

परराष्ट्रमन्त्रीद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता

काठमाडौं:    संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने क्रममा न्युयोर्कमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मङ्गलबार दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग छुट्टाछुट्टै  भेटवार्ता गर्नुभएको छ ।


दक्षिण कोरियाका विदेशमन्त्री चो ताय‐युलसँग भएको  भेटमा नेपाल– कोरिया सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोबारे छलफल भएको परराष्ट्रमन्त्री देउवाको निजी सचिवालयले जनाएको छ । 


दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध पारस्पारिक सम्मान र समझदारीमा आधारित रहेको तथा त्यसलाई आगामी दिनमा  थप प्रगाढ बनाउने विषयमा पनि कुराकानी भएको थियो । 


त्यसैगरी उहाँहरूबीच यस वर्ष दुवै देशले मनाइरहेको नेपाल– कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवका बारेमा पनि कुराकानी भएको थियो । नेपाल र कोरियाबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।


परराष्ट्रमन्त्री डा देउवाले कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण जयन्तीका अवसरमा उच्चस्तरीय भ्रमणबाट दुई देशको सम्बन्ध थप बलियो र विस्तारित हुने भन्दै विदेशमन्त्रीमार्फत कोरियाली राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि आमन्त्रण पनि गर्नुभयो ।


भेटका क्रममा पछिल्लो समय रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपालीलाई दिइरहेको रोजगारी एवं नेपाली विद्यार्थी र राष्ट्रसेवकहरूलाई  दक्षिण कोरिया सरकारले प्रदान गरिरहेको छात्रवृत्तिका लागि परराष्ट्रमन्त्रीले सरकारका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । 


साथै विगत लामो समयदेखि नेपालको सामाजिक, आर्थिकलगायत क्षेत्रमा दक्षिण कोरिया सरकारले पुर्याउँदै आएको सहयोगको पनि उहाँले सराहना गर्नुभएको थियो ।


मन्त्री डा राणाले कोरियालाई नेपालमा थप लगानीका लागि पनि आग्रह गर्नुभएको थियो । नेपालमा प्रत्यक्ष लगानी गर्ने राष्ट्रमध्येको  दक्षिण कोरिया प्रमुख देश हो । अघिल्लो आर्थिक वर्षमा नेपालमा दक्षिण कोरियाको करिब रु १२ अर्ब लगानी आएको थियो । 


नेपालले संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्, सुरक्षा परिषद्मा उम्मेदवारी दिएकाले कोरियाली सहयोगका लागि परराष्ट्रमन्त्रीले आग्रह गर्नुभएको थियो ।


त्यसैगरी, मन्त्री देउवाले मङ्गलबार नै फिलिपिन्सका विदेशमन्त्री एनरिक ए मानालोसँग पनि भेटवार्ता गर्नुभयो । त्यस क्रममा उहाँहरूबीच आपसी हित र साझा चासोका साथै भावी सहकार्यबारेमा कुराकानी भएको थियो । साथै परराष्ट्रमन्त्रीले संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्, र सुरक्षा परिषद्मा नेपाललाई सघाउन फिलिपिन्ससँग अनुरोध गर्नुभयो ।

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...

थप पढ्नुहोस्

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्

पोखरा:   सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ ।    नेपाल फोटो पत्र...

थप पढ्नुहोस्